News नेदरल्याण्डस क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । समूह चरणतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा प्रवेश गरेको नेदरल्याण्डसले आइतबार प्रिक्वाटरफाइनलमा पनि उत्कृष्ट जितका साथ क्वाटरफाइनल यात्रा तय गरेको छ ।

सिड्नीमा सम्पन्न तेस्रो प्रिक्वाटरफाइनलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई २–० ले हरायो । नेदरल्याण्डसका लागि खेलको नवौं मिनट मै जिली रुर्डले पहिलो गोल गरिन् । त्यस्तै ६८औं मिनटमा लाइनेथ बिरेस्टीनले दोस्रो गोल गर्दे डच टोलीको जित पक्का गरिन् ।

नेदरल्याण्डसले अब ११ अगस्तका दिन हुने पहिलो क्वाटरफाइनलतर्फ अर्को दावेदार टोली स्पेनसँग खेल्ने पनि पक्का भएको छ । स्मरण रहोस, स्पेनले शनिबार मात्रै पहिलो प्रिक्वाटरफाइनलमा स्वीजरल्याण्डलाई ५–१ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरिसकेको छ ।

नेदरल्याण्डसले अन्तिमपटक सन् २०१९ मा गत संस्करणको विश्वकप फाइनल खेलेको थियो । त्यतिबेला डच टोली अमेरिकासँग २–० ले पराजित भएको थियो ।

Post Comments