News चेन्नईनसँग निराश आर्मी
गोलनेपाल

काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३२औं डुरान्ड कप खेलिरहेको त्रिभुवन आर्मी फुटबल क्लबले समूह चरणको आफ्नो दोस्रो खेलमा निराशाजनक हार बेहोरेको छ । सोमबार गुवाहाटीमा सम्पन्न समूह ई तर्फको खेलमा आर्मीले इण्डियन सुपर लिग जायन्ट चेन्नईन एफसीसँग ३–० को हार बेहोर्न पुगेको हो ।

खेलको २२औं मिनटमै फारुख चौधरीको गोलबाट चेन्नईनले खेलमा अग्रता बनाएको थियो । ३९औं मिनटमा रहिम अलीले त्यो अग्रता दोब्बर पारे । खेलको शुरुवातबाटै राम्रो पकड बनाएको चेन्नईनका लागि ८४औं मिनटमा राफेलले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

यो हारले आर्मीको सम्भावना लगभग समाप्त भएको छ भने चेन्नईनले नकआउट चरण प्रवेश पक्का गरेको छ । २ खेलबाट ६ अंक जोडेको चेन्नईन शिर्ष स्थानमा छ । २ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहँदा समान १–१ अंक जोडेका हैदराबाद र आर्मी क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

आफ्नो पहिलो खेलमा दिल्ली एफसीसँग १–१ को बराबरी खेलेको आर्मीले समूह चरणको अन्तिम तथा प्रतिष्ठाको भिडन्तमा २२ अगस्तका दिन हैदराबाद सिटीसँग खेल्नेछ ।

Post Comments