News नयाँ मोडलमा एसियाको शिर्ष क्लब फुटबल, पुरस्कार राशीमा पनि भारी बृद्धि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियाली फुटबल महासंघ (एएफसी) को सोमबार बसेको कार्यसमितिको भर्चुअल बैठकले एसियाको शिर्ष क्लब फुटबल प्रतियोगितालाई नयाँ मोडलमा आयोजना गर्ने निर्णयसँगै घोषणा गरेको छ । एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाको अध्यक्षतामा बसेको बैठकले एसियाको क्लब फुटबललाई आकर्षक नयाँ ढाँचामा लैजाने निर्णय गरेको हो ।

एएफसीका अनुसार सन् २०२४–२५ को नयाँ सिजनबाट एसियाको शिर्ष क्लब फुटबलका रुपमा एएफसी च्याम्पियन्स लिग इलिटको नाममा आयोजना हुने भएको छ । जुन हाल एएफसी च्याम्पियन्स लिगका रुपमा आयोजना हुँदै आएको छ ।

त्यस्तै च्याम्पियन्स लिग इलिटको पुरस्कार राशीमा पनि भारी बृद्धि गरिएको छ । हाल विजेताले ४० लाख डलर पाउँदै आएकोमा सन् २०२४–२५ मा हुने नयाँ सिजनको विजेताले १ करोड २० लाख डलर पाउनेछ । त्यस्तै उपविजेताले ४० लाख डलर पाउनेछ । हाल एएफसी चयाम्पियन्स लिगको उपविजेताले २० लाख डलर पाउँदै आएको छ ।

त्यसैगरी बैठकले निर्णय गरे अनुसार थपिएका थप दुई क्लब फुटबल प्रतियोगिताहरुमा दोस्रो श्रेणीको एएफसी च्याम्पियन्स लिग टु र तेस्रो श्रेणीको प्रतियोगिताका रुपमा एएफसी च्यालेञ्ज लिग रहेका छन् ।

यी तीन प्रतियोगिताहरुमा एसियाका कुल ७६ क्लबहरुले सहभागिता जनाउने छन् । एएफसी च्याम्पियन्स लिग इलिटमा २४ टिम हुनेछन् भने च्याम्पियन्स लिग टु मा ३२ तथा च्यालेञ्ज लिगमा २० क्लबहरुले हुनेछन् ।

त्यस्तै एएफसीको बैठकले पहिलोपटक एएफसी महिला च्याम्पियन्स लिग आयोजना गर्ने निर्णय समेत गरेको छ । हाल एएफसी मातहत मै रहेर महिला क्लब च्याम्पियनसिपको आयोजना हुँदै आएको छ । जुन प्रतियोगितालाई एएफसी महिला च्याम्पियन्स लिगले विस्थापित गर्नेछ । यसबारे एएफसीले विस्तृत रुपमा पछि घोषणा गर्ने पनि बताएको छ ।

Post Comments