News नेमार आधिकारिक रुपमै अल हिलालमा अनुवन्धित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एक पछि अर्को स्टार खेलाडीहरु साउदी प्रो लिगतर्फ आकर्षित भईरहेका बेला यही सूचीमा ब्राजिलियन सुपरस्टार नेमार पनि थपिएका छन् । ३१ वर्षिय नेमारलाई अल हिलाल एफसीले आधिकारिक रुपमा अनुवन्ध गरेको छ ।

क्लबले मंगलबार एउटा भिडियो सार्वजनिक गर्दै नेमारलाई अनुवन्ध गरेको कुरा घोषणा गरेको हो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नेमारलाई अल हिलालले करिब ९० मिलियन युरोमा अनुवन्ध गरेको हो ।

सन् २०१७ मा बार्सिलोनाबाट २०० मिलियन पाउण्डको विश्व किर्तिमानी मुल्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुवन्धित भएका नेमार भर्खरै शुरु भएको फ्रेन्च लिग वानमा पिएसजीका लागि टिममा सामेल थिएनन् । साउदी क्लबमा जाने खबरहरु बाहिरिएसँगै पिएसजीका म्यानेजर लुइस एनरिकले पनि नेमारलाई टिममा सामेल गरेका थिएनन् ।

अल हिलालमा हाल पूर्व वुल्भरह्याम्पटन स्टार रुबेन नेवेस, चेल्सी स्टार कालीदु कुलीबेली जस्ता खेलाडीहरु छन् । रिपोर्टअनुसार नेमारले अल हिलालमा पनि १० नम्बर जर्सी लगाउने छन् ।

नयाँ सिजनका लागि पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो अल नासरमा आवद्ध भएपछि साउदी क्लबहरुले युरोपका नाम चलेका खेलाडीहरुलाई आफ्नो क्लबमा अनुवन्ध गर्ने होडबाजी नै चलेको छ ।

त्यसो त रोबर्टो फर्मिनो, करिम बेन्जेमा, एन्गोलो कान्टे, साडियो माने, र्याद महरेज, इडुआर्ड मैन्डी जस्ता चर्चित खेलाडीहरु पनि हालै साउदी क्लबहरुमा अनुवन्धित भईसकेका छन् ।

Post Comments