News मदन भण्डारी कप शुरु, डिएस युनाइटेड र बेलबासको विजयी शुरुवात
सुरज राना मगर

बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल उपमहानगर कमिटीको आयोजनामा भदौ १ गते शुक्रबारदेखि मदन भण्डारी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । बुटवल–७, स्थित शिवनगर सामुदायिक वनको खेलमैदानमा भएको पहिलो दिन डिएस युनाइटेड र बेलबास एफसीले विजयी शुरुवात गरे ।

पहिलो खेलमा डिएस युनाइटेडले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी (बी) लाई शून्यका विरुद्ध १ गोलले हरायो । डिएस युनाइटेडको जितमा सनम रानाले एक मात्र निर्णायक गोल गरे । डिएस युनाइटेडका निर्णायक गोलकर्ता सनम राना नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दिनको दोस्रो खेलमा बेलबास एफसीले झरना स्पोर्टस क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा बेलबासका गोलरक्षक अनुप राना म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २६ हजार प्राप्त गर्ने खेल संयोजक सागर रसाइलीले जानकारी दिए । कुल ३२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ १६ गतेका दिन हुने मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल उपमहानगर कमिटीका अध्यक्ष गौरव आचार्यले जानकारी दिए ।

Post Comments