News प्रतिष्ठित २१औं लिस्नु कप शुरु, नवयुवा र कपिलवस्तुको विजयी शुरुवात
सुरज राना मगर

तिलोत्तमा । लिस्नु युवा क्लब, कोटिहवा, रुपन्देहीको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको जिल्ला कै प्रतिष्ठित लिस्नु कपको २१औं संस्करण भव्यताका साथ शुरु भएको छ । तिलोत्तमा–१५ स्थित पशुपति माविको खेलमैदानमा शुरु प्रतियोगिता अन्तरगत आइतबार दुई खेलहरु सम्पन्न भए ।

उद्घाटन खेल भदौ २३ गते शनिबार गर्ने भनिए तापनि प्रतिकुल मौसमका कारण २४ गते आइतबार सारिएको थियो । आइतबार भएको उद्घाटन खेलमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपले नवलपरासी–११ लाई शून्यका विरुद्ध २ गोलले हरायो ।

खेलमा नवयुवाका लागि दुवै गोल निराजन खत्रीले गरे । खत्री नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । यो जितसँगै नवयुवा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै दिनको दोस्रो खेलमा कपिलवस्तु–११ ले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रलाई ४–० ले हरायो । खेलमा विपक्षी खेलाडीलाई फल गरेपछि प्रहरी टोलीका डिफेन्डर सनम चौथरीले सोझै रातो कार्ड खाँदै मैदान छाडेपछि प्रहरी टोली शुरुवातबाटै दबाबमा खेल्न बाध्य बनेको थियो ।

कपिलवस्तुको जितमा कप्तान सन्जु सेनले दुई गोल गरे भने सन्दिप थारु र गोविन्द पालुङेले एक–एक गोल गरे । खेलमा कपिलवस्तुका सन्दिप थारु म्यान अफ द म्याच घोषित भए । उनले पनि पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे ।

जित हात पारेको कपिलवस्तु पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत भदौ २५ गते सोमबारको तेस्रो प्रिक्वाटरफाइनल खेल देवदह ब्वाईज र झरना स्पोर्टस क्लबबीच हुने खेल संयोजक नेम गुरुङले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्ल लगायतका अन्य अतिथीहरुको संयुक्त उपस्थितिमा गरेका थिए ।

स्व. जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।

Post Comments