News फर्साटिकरलाई सेमिफाइनलमा पुर्याउन निरजको ह्याट्रिक
सुरज राना मगर

तिलोत्तमा । निरज चौधरीले ह्याट्रिक गरेपछि गत संस्करणको उपविजेता समेत रहेको फर्साटिकर युवा क्लब यहाँ जारी २१औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा फर्साटिकरले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

फर्साटिकरको जितमा निरज चौधरीले ह्याट्रिक गरे भने बिशाल लामाले थप एक गोल गरेका थिए । उता पराजित नवयुवाका लागि पासाङ गुरुङ र कान्छा गुरुङले गरेका थिए । खेलमा फर्साटिकरका लागि ह्याट्रिक गरेका निरज चौधरी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३५०० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत भदौ २८ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल साविक विजेता तथा आयोजक लिस्नु युवा क्लब र कपिलवस्तु–११ बीच हुने खेल संयोजक नेम गुरुङले जानकारी दिए ।

स्व।जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।

Post Comments