News फुटबल खेलाडी संघ र बिएण्डबि अस्पतालबीच ऐतिहासिक सम्झौता
गोलनेपाल

काठमाडौं । “मैदान भित्र मात्र नभई मैदान बाहिर फुटबल खेलाडीहरु सुरक्षित छौं” भन्ने आभाष दिलाउन नेपाल फुटबल खेलाडी संघ र बिएण्डबि अस्पताल प्रा.लि. बीच ऐतिहासिक सम्झौता भएको कुरा फुटबल खेलाडी संघले जानकारी गराएको छ ।

फुटबल खेलाडीहरुले देश मै भएको उत्कृष्ट स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउन सकुन् भन्ने उद्देश्यका साथ बिएण्डबि अस्पतालसँग ऐतिहासिक सम्झौता भएको फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले जानकारी दिए ।

सम्झौताअनुसार नेपालको ए, बी, सी डिभिजन लिग खेलेका खेलाडीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले देश कै अग्रणी र प्रतिष्ठित स्वास्थ्य संस्थाका रुपमा परिचित बिएण्डबि अस्पतालमा विशेष सहुलियतमा स्वास्थ्य सेवा लिन सक्ने छन् ।

सम्झौता अनुसार बिएण्डबि अस्पतालमा खेलाडीहरुको सम्पूर्ण उपचारमा २० प्रतिशत छुट, विपन्न वर्गका खेलाडीहरुलाई सिमित कोटामा शल्यक्रियासहितको निःशुल्क उपचार, सम्बन्धित खेलाडीहरुको परिवारको उपचारमा १५ प्रतिशत छुट तथा औषधीमा १२ प्रतिशत छुट लगायत रहेका छन् ।

यो ऐतिहासिक सम्झौताले नेपाली फुटबल खेलाडीहरुको स्वास्थ्य सुरक्षामा पनि थप टेवा पुग्ने विश्वास अस्पतालले लिएको छ । स्मरण रहोस, बिएण्डबि अस्पतालले यसअघि पनि विभिन्न खेल क्षेत्रका खेलाडीहरुलाई सहुलियत मै उपचार सेवा दिंदै आएको छ ।

Post Comments