News नेपालकै सर्वाधिक राशीको खुला फुटसल प्रतियोगिता हुने, विजेताले ५ लाख पाउने
उमेश पुन
पोखरा । पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।
 
आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए । उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए ।
 
यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक र स्पोर्टस् क्यासलबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले  प्रतियोगिता आयोजना गर्न आफूहरुलाई थप हौसला मिलेको सुनाए ।
 
उनका अनुसार यो वर्ष मंगोलियामा एएफसी फुटसल एसियन कपका लागि घोषणा भएको नेपाली टोलीमा स्पोर्टस् क्यासलको तर्फबाट सुमित श्रेष्ठ (मेस्सी), राम शाही र दिपेश घले छनोट भएका छन् भने राजन एण्ड द ब्रदर्शबाट खेलेका आरुष सिंह ठकुरी पनि नेपाली टोलीमा स्थान बनाएका छन् ।
 
त्यस्तै प्रतियोगिता संयोजक आशिष क्षेत्रीले पुरस्कार राशी वृद्धि गरेर ५ लाख पुर्याइएको जानकारी दिए । उनका अनुसार पहिलो संस्करणमा उपाधि राशी ३ लाख रुपैयाँ थियो । यस पटक दोस्रो संस्करणको विजेतालाई ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपात्र प्रदान गर्ने बताए ।
 
त्यस्तै उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५/२५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् । देशभरबाट कुल ३० बढी टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ भने प्रतियोगितामा सहभागिता हुनका लागि २५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
 
Post Comments