News थर्ड आई र हिम शिखर सेमिफाइनलमा
गोलनेपाल

इटहरी । थर्ड आई स्कुल, दुहबी र हिम शिखर इङलिस स्कुल, इटहरी यहाँ जारी प्याब्सन एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको क्वाटरफाइनल खेलतर्फ थर्ड आई स्कुलले पशुपति बोर्डिङ स्कुल, इटहरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो ।

थर्ड आईको जितमा रमण डंगोलले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने पशुपतिका कृजन चौधरी घोषित भए ।

त्यस्तै अर्को क्वाटरफाइनल खेलमा हिम शिखर इङलिस स्कुलले इनरुवा बोर्डिङ स्कुल, इनरुवालाई शून्यका विरुद्ध २ गोलले हरायो । हिम शिखरको जितमा शरण राई र रमण सुनामले गोल गरे ।

म्यान अफ द म्याच भने हिम शिखर कै सलोन जिमी घोषित भए । यो जितसँगै हिम शिखरले पनि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा जारी प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान गर्ने टोलीहरुले क्रमशः २० हजार, १५ हजार, १० हजार र ७ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

Post Comments