News फर्साटिकर लगातार दोस्रोपटक फाइनलमा
सुरज राना मगर

तिलोत्तमा । गत संस्करणको उपविजेता समेत रहेको फर्साटिकर युवा क्लब यहाँ जारी २१औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा फर्साटिकरले देवदह ब्वाईजलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलको पहिलो हाफतर्फ १४औं मिनटमा गौरव श्रेष्ठले गरेको एक मात्र गोल फर्साटिकरलाई फाइनलमा पुर्याउन निर्णायक बन्यो ।

निर्णायक गोल गरेका फर्साटिकरका गौरव श्रेष्ठ म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत असोज ३ गते बुधबारको दोस्रो सेमिफाइनल खेल कपिलवस्तु–११ र पाल्पा–११ बीच हुने खेल संयोजक नेम गुरुङले जानकारी दिए ।

स्व. जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।

Post Comments