News फर्साटिकरलाई २१औं लिस्नु कपको उपाधि
सुरज राना मगर

कोटिहवा । एकतर्फी जितका साथ यहाँ सम्पन्न प्रतिष्ठित २१औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर युवा क्लबले जितेको छ ।

गत संस्करणको उपविजेता समेत रहेको फर्साटिकरले शुक्रबार कपिलवतसु–११ लाई ४–० ले हराउँदै विजेता बन्न सफल भएको हो । कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि सुनिल खड्का र टिकाराज गुरुङले दुई–दृई गोल गरे ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्यो भने उपविजेता कपिलवस्तुले १ लाख ५५ हजारमा चित्त बुझाउन बाध्य बन्यो । कपिलवस्तुका विश्वास थापा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद २५ हजार। ट्रफी र अन्य गिफ्ट ह्याम्पर हात पारे ।

फर्साटिकरका बिशाल केसी उत्कृष्ट गोलरक्षक चुनिए । त्यस्तै सञ्जिवनी युवा क्लबका अनुप बुढा उदीयमान खेलाडी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका निरज चौधरी, कपिलवस्तुका सन्जु सेन र देवदह ब्वाईजका बिकी चाम्लिङ राईले संयुक्त रुपमा हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्ल लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

स्व. जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजनमा भदौ २३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments