News सात गोलको ‘थ्रीलर’ म्याचमा भुटानसँग बंगलादेश स्तब्ध
गोलनेपाल

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपतर्फ शनिबार सनसनीपूर्ण नतिजा निस्किने क्रममा भुटानले बंगलादेशमाथि रोमाञ्चक जित हात पारेको छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानले गत संस्करणको उपविजेता बंगलादेशलाई ४–३ ले हरायो ।

यो नतिजाले भुटान समूह बी बाट भारतसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । साथै यो जितसँगै भुटानले सन् २०१९ मा भएको तेस्रो संस्करणको सेमिफाइनलमा बंगलादेशसँग ४–० ले बेहोरेको हारको बदला पनि लिएको छ ।

संयोग कस्तो भन्दा प्रतियोगिताको तेस्रो संस्करण पनि नेपाल मै भएको थियो । त्यतिबेला भुटान पहिलोपटक सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भएको थियो ।

अब भुटानले सोमबार हुने समूह चरणको अन्तिम खेलमा साविक विजेता भारतको सामना गर्नेछ । भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । भारत र भुटानबीचको खेलको नतिजाले समूह बी को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

Post Comments