News उत्कृष्ट जितका साथ नेपाल सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । जित्नै पर्ने खेलमा उत्कृष्ट जित हात पार्दै नेपाल घरेलु मैदानमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह ए तर्फको अन्तिम तथा निर्णायक खेलमा नेपालले जित्नैपर्ने खेलमा माल्दिभ्सलाई ४–१ ले हरायो ।

दशरथ रंगशालामा भएको खेलको १८औं मिनटमा प्रशान्त लक्षमको गोलबाट नेपालले खेलमा अग्रता बनाएको थियो । ३०औं मिनटमा समिर तामाङले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म नेपालले २–० कै अग्रता कायम पनि राख्यो ।

यद्यपि खेलको शुरुवातबाटै दुवै टोली दश खेलाडीमा खुम्चिएका थिए । पहिलो हाफ मै नेपालका सुजन डंगोल र माल्दिभ्सका शनान रसिदले रातो कार्ड खाँदै मैदान छाड्दा दुवै टोली पहिलो हाफबाटै दश खेलाडीमा खुम्चिएर खेल्न बाध्य बनेका थिए ।

उता दोस्रो हाफको ५७औं मिनटमा आदम लयानले माल्दिभ्सका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई बराबरीको खाँचो थियो । तर, पाहुना टोली त्यसमा सफल हुन सकेन ।

८७औं मिनटमा निराजन धामीले नेपालका लागि तेस्रो गोल गरे भने खेलको अन्तिमतिर इन्जुरी समयमा समिर तामाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए ।

यो नतिजापछि २ खेलबाट ४ अंक जोडेको पाकिस्तान समूह विजेताका रुपमा यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । त्यस्तै ३ अंक जोडेको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो भने १ अंक जोडेको माल्दिभ्स समूह चरणबाटै बाहिरिन बाध्य बन्यो ।

नेपालले सेमिफाइनलमा अब भारत वा भुटान मध्ये एकसँग खेल्नेछ । समूह बी तर्फ सोमबार नै भारत र भुटान भिड्दै छन् । समूह बी बाट यी दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । साथै आज हुने खेलले समूह ए को विजेता र उपविजेता टोलीको लाग्नेछ ।

Post Comments