
नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण फरवार्ड अञ्जन बिष्ट दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफ.सी सँग मार्कि खेलाडीको रूपमा अनुबन्धित भएका छन् ।
झापा एफ.सी. ले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका बिष्टले १२ गोल समेत गरेका छन् र सर्वाधिक गोलको किर्तिमान बराबरी गर्न १ गोल मात्र टाढा रहेका रहेका छन् ।
२५ बर्षिय नेपाली फुटबलका चम्किला तारा अञ्जनले भर्खरै सम्पन्न भएको सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज यूनाइटेडलाई पहिलो प्रयासमा नै च्याम्पियन बनाउन टोलिको तर्फबाट सर्वाधिक गोल समेत गरेका थिए । उनी एनएसएलको पहिलो संस्करणमा बेष्ट फरवार्ड चुनिएका थिए । दुवै विंग्स बाट खेल्न उत्तिकै सक्षम उनले झापा एफ.सी.को नेपाली फुटबल विकासको भिजन मन परेकै कारण आफूले झापा रोजेको बताए ।
"झापा एफ.सी.को नेपाली फुटबललाई फरक रूपमा अगाडी बढाउने प्लान मलाई निकै मन परेकै कारण झापा रोजेको हु । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याए सम्म सबै कुरामा योगदान पुर्याउने छु । यस टिमसँग जोडिन पाउँदा निकै गर्व महसुस भैरहेको छ ।" अञ्जनले भनेका छन् ।
"नेपाली टिमका महत्वपूर्ण खेलाडी अञ्जनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौँ । अञ्जन एक प्रतिभाशाली खेलाडी मात्र नभएर राम्रो लिडर पनि हुन् । उनको आगमनले टिममा छुट्टै उर्जा मिलेको महसुस भएको छ ।" झापा एफ.सी. का प्रवक्ता तथा महासचिव सुजन गौतमले बताए ।
"अञ्जन एक मेहनती खेलाडी खेलाडी हुन् ।अञ्जनले झापा एफ.सी. लाई पहिलो प्रयासमा नै लिग जिताउन उल्लेखनिय भुमिका खेल्ने छन् भन्ने पूर्ण विश्वास लिएका छौँ ।" अञ्जनलाई अनुबन्ध गराउनुको कारण बताउदैँ झापा एफ.सी. का अध्यक्ष अर्पण बिक्रम खड्काले भने ।
झापा एफ.सी. दोश्रो संस्करणको लागि थपिएको ३ नयाँ टोली मध्ये एक हो । एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा आयोजना हुदैंछ । दोश्रो संस्करणको अक्सन आगामी शनिबार हायात होटलमा सञ्चालन हुदैंछ ।