News एसियन गेम्सः अन्तिम खेलमा नेपालको बराबरी
गोलनेपाल

काठमाडौं । चीनमा जारी एसियन गेम्सको महिला फुटबलतर्फ समूह चरणको अन्तिम खेलमा नेपालले बराबरी खेल्दै प्रतियोगिताको समापन गरेको छ । समूह डी मा रहेको नेपालले बिहीबार समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै अंक जोड्न सफल भयो ।

लगातार दुई खेलमा हार बेहोर्दै यसअघि प्रतियोगिताबाट बाहिरिसकको नेपाल र बंगलादेशका लागि प्रतिष्ठाको भिडन्तका रुपमा रहेको थियो । खेलको ४४औं मिनटमा सबिना खातुनको गोलबाट बंगलादेशले शुरुवाती अग्रता बनाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न सकेन ।

उता हारको संघारमा पुगेका नेपालका लागि ८३औं मिनटमा रेखा पौडेलले बराबरी गोल फर्काएकी थिईन् । साबित्रा भण्डारीको क्रस पासमा रेखाले हेडद्वारा गोल गर्दै नेपालको सम्भावित हार टारेकी थिईन् ।

त्यस्तै बिहीबार नै भएको समूह डी तर्फको खेलमा जापानले भियतनामलाई ७–० ले हराउँदै शतप्रतिशत जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह डी मा ९ अंक जोडेको जापान शिर्ष स्थानमा रहँदा ६ अंक जोडेको भियतनाम दोस्रो स्थानमा रह्यो । समान १–१ अंक जोडेका नेपाल र बंगलादेश भने क्रमशः तेस्रो र चौथो स्थानमा रहेर प्रतियोगिता समापन गर्न बाध्य बने ।

Post Comments