News कालिकोट पुग्यो गोलनेपालको सहयोग अभियान
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा सक्रिय भएर लागिपरेको गोलनेपाल फाउण्डेशनले कालिकोट जिल्लाको एक स्थानीय क्लबलाई आवश्यक खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनले देशका विभिन्न जिल्लाहरुमा पुगेर स्थानीय युवा, महिला खेलाडी, अफिसियल तथा क्लबहरुलाई आवश्यक सहयोग गर्ने अभियान चलाईरहेको छ ।

यसै अभियान अन्तरगत यसपटक गोलनेपाल कालिकोट पुगेको हो । बिबा मिडिया ग्रुप कै एक हिस्साका रुपमा रहेको फाउण्डेशनले एनपिओ रियल वल्र्डसँगको सहकार्य तथा सिंह राज शाहीको पहलमा कालिकोट एफसीलाई १० थान फुटबल लगायत अन्य खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

उक्त सहयोग प्राप्त गरेपछि शाहीले क्लबको तर्फबाट गोलनेपाल तथा एनपिओ रियल वल्डलाई धन्यवाद दिए । साथै ती सहयोगले खेलाडीहरुलाई खुशी र प्रोत्साहित गरेको प्रतिक्रिया दिए । उनले यस्तो सहयोग क्लबलाई थप आवश्यक रहेको चर्चा समेत गरे ।

उता एनपिओ रियल वल्र्डमा आवद्ध रहेका एएफसी बी लाइसेन्स प्रशिक्षक तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी बालगोपाल साहुखलले गोलनेपाल फाउण्डेशनको यो अभियानमा सहकार्य गर्न पाउँदा आफूहरुलाई थप खुशी मिलेको प्रतिक्रिया दिए ।

सोही अवसरमा गोलनेपाल फाउण्डेशनका सिइओ बिक्रम थापाले आफूहरुको यो अभियान विभिन्न जिल्लाहरुका स्थानीय युवा तथा महिला खेलाडीहरुलाई फुटबलमा लाग्न अभिप्रेरित गर्न र फुटबलको मजा लिनु रहेको बताए । साथै आफ्नो यो अभियानले गाउँघरका स्थानीय खेलाडीहरुमा फुटबल कै माध्यमबाट धेरै कुरा सिक्न सकिने उत्प्रेरणा मिलोस भन्ने आफ्नो उद्देश्य रहेको सिइओ थापाले बताए ।

साथै सिइओ थापाले फाउण्डेशनको यो अभियानमा सक्रिय भएर विशेष सहयोग र सहकार्य गर्न अघि सर्ने एनपिओ रियल वल्र्डकी अध्यक्ष आया मियोश किजाकीलाई पनि विशेष धन्यवाद दिए ।

स्मरणीय छ, गोलनेपाल फाउण्डेशनले प्रत्येक महिना देशका विभिन्न जिल्लाहरुमा पुगेर त्यहाँको स्थानीय बालबालिका, महिला फुटबल खेलाडी, फुटबल संघ, रेफ्री र प्रशिक्षकहरुलाई सहयोग गर्दै आइरहेको छ । यो अभियान देशैभरिको ७७ जिल्लासम्म पुर्याउने योजनामा रहेको फाउण्डेशन हालसम्म ३२ जिल्लाहरुमा पुगिसकेको छ ।

Post Comments