News यस्ता छन् दोस्रो नेपाल सुपर लिगका लागि खरिद भएका खेलाडीहरु (सूचीसहित)
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शनिबार खेलाडीहरुको लिलामी सम्पन्न भएको छ । काठमाडौंस्थित होटल ह्यात प्यालेसमा सम्पन्न भएको लिलामी कार्यक्रममा सहभागि ९ क्लबहरु खेलाडीहरुको खरिदमा उत्साहित देखिए ।

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले दिपेश गुरुङलाई सर्वाधिक ३ लाख ५० हजार मुल्य तिरेर क्लबमा अनुवन्ध गर्यो । हिसुब थपलिया मार्की खेलाडी रहेको रेजर्सले अमित तामाङ, राजिव लोप्चन र जियारथ शेख जस्ता युवा खेलाडीहरुलाई पनि खरिद गरेको छ ।

त्यस्तै आशिष चौधरी मार्की खेलाडी रहेको धनगढीले कृतिश रत्न छुन्जुका लागि सर्वाधिक ३ लाख ५० हजारको बोली लगाउँदै क्लबमा सामेल गर्यो । धनगढीमा देवेन्द्र तामाङ, कमल श्रेष्ठ, टिकेन्द्र थापा, निशाल लिम्बु, सुरेश कुमाल, रणदीप पौडेल जस्ता खेलाडीहरु पनि परेका छन् ।

बिशाल श्रेष्ठ मार्की खेलाडी रहेको चितवनले छिरिङ गुरुङका लागि सर्वाधिक ३ लाख ५० हजार खर्चियो । चितवनले यसपटक नवयुग श्रेष्ठ, राजेश परियार, रोशन राना मगर, बिक्रम धिमाल जस्ता अनुभवी र युवा खेलाडीहरुलाई खरिद गरेर सन्तुलित टिम बनाउने प्रयास गरेको छ ।

पहिलो संस्करणमा प्ले अफ खेलेको बुटवल लुम्बिनी एफसीले आर्मीका जिलेस्पी जंग कार्की र प्रकाश बुढाथोकीलाई क्लबमा भित्राएको छ । लिलामीमा टोलीले १ लाख ५० हजारको महँगो बोली लगायो । क्लबले कुल ७ खेलाडीहरुका लागि १ लाख ५० हजार मुल्य तिरेको छ । बुटवल लुम्बिनीको मार्की खेलाडीमा एरिक बिष्ट रहेका छन् ।

नवप्रवेशी टोली झापा एफसीले पनि खेलाडी खरिदमा खुलेरै खर्चियो । झापाले लाकेन लिम्बुलाई सर्वाधिक ३ लाख ५० हजारमा खरिद गर्यो । अन्जन बिष्ट मार्की खेलाडी रहेको झापाले लक्ष्मण रुचाल, अशोक खवास, सुरज बिष्ट, सुमित श्रेष्ठ जस्ता खेलाडीहरुलाई पनि टिममा सामेल गरेको छ ।

अर्को नवप्रवेशी टोली बिरगंज युनाइटेडले सिमान्त थापा र सुदिप गुरुङमाथि सर्वाधिक जनही ३ लाख ५० हजार खर्चियो । टोलीमा सुवास गुरुङ, भिषन गुरुङ, जय गुरुङ जस्ता अनुभवी खेलाडीहरुको पनि बाहुल्यता रहेको छ । टोलीको मार्की खेलाडीमा भने दिप कार्की रहेका छन् ।

आयुष घलान मार्की खेलाडी रहेको पोखरा थन्डर्सले पुजन होना, दिपेश आले मगर, अन्जल महर्जन जस्ता चल्तीका खेलाडीहरुलाई खरिद गरेको छ । क्लबले सर्वाधिम महँगो मुल्य १ लाख ५० हजारमा चार खेलाडीहरुलाई अनुवन्ध गरेको छ ।

त्यसैगरी अर्को नवप्रवेशी टोली स्र्पोटिङ इलाम डि मेचीले राष्ट्रिय टोलीका युवा डिपेन्डर आशिष गुरुङका लागि सर्वाधिक ३ लाख ५० हजार खर्चियो । बिकेश कुथु मार्की खेलाडी रहेको इलामेली क्लबले बिराज महर्जन, जितेन्द्र कार्की, भरत खवास, नविन लामा, सन्तोष खत्री जस्ता खेलाडीहरुलाई भित्राएको छ ।

अनन्त तामाङ मार्की खेलाडी रहेको ललितपुर सिटी फुटबल क्लबले सेसेहाङ आङदेम्बे र सनिस श्रेष्ठका लागि सर्वाधिक जनही ३ लाख ५० हजार खर्चियो । त्यसबाहेक टोलीमा बिशाल सुनार, दिनेश हेन्जन, रोशन पहारी जस्ता चल्तीका नामहरु पनि परेका छन् ।

टोलीहरुले विदेशी कोटामा खेलाडीहरु अनुवन्ध गर्न भने अझै बाँकी छ । स्मरण रहोस, यस वर्षको दोस्रो नेपाल सुपर लिग आउँदो मंसिर ८ गतेदेखि पुष १४ गतेसम्म हुँदैछ । यसपटक लिगमा कुल ९ टोलीहरुले सहभागिता जनाउँदै छन् । लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।

क्लबहरुले खरिद गरेका खेलाडीहरुको नामावली सूची हेर्नुहोसः

 

Post Comments