News ओसन कपको नवौं संस्करण शुरु
गोलनेपाल

गोरखा । ‘गोरखा मेयर युवा फुटबल विकास परियोजना’ अन्तरगत द ओसन क्लब, गोरखा–९, दलभञ्ज्याङको आयोजनामा नवौं ओसन कप अन्तरविद्यालय यु–१३ लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।

स्व. ईमान बहादुर स्मृति खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन कुल ५ खेलहरु सम्पन्न भए । पहिलो खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनले सुर्यमुखी बोर्डिङ स्कुललाई ५–२ ले हरायो ।

दोस्रो खेलमा महालक्ष्मी माविले द ओल्ड क्यापिटल माविलाई २–१ ले हरायो । तेस्रो खेलमा रत्नलक्ष्मी माविले सरस्वती माविमाथि २–० को जित निकाल्यो ।

चौथो खेलमा रत्न राज्य माविले मोर्डन सेकेण्डरी इङलिस बोर्डिङ स्कुललाई ३–२ ले निराश तुल्यायो । पाँचौं खेलमा आयोजक द ओसन क्लब भने नवज्योति माविसँग ०–३ ले निराश बन्न पुग्यो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५०० हात पार्नेछ भने उपविजेताले ३५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्लेट फाइनल जित्ने टोलीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक अमित खत्रीले जानकारी दिए ।

प्रतियोगितामा आयोजक टोलीसहित गोरखा जिल्लाका कुल ९ विद्यालयका यु–१३ फुटबल टोलीहरुले सहभागिता जनाएका छन् ।

Post Comments