News राष्ट्रिय यु–१९ खेलाडी समिर गृहजिल्लामा सम्मानित
गोलनेपाल

निजगढ । दशरथ रंगशालामा यही असोज ४ देखि १३ गतेसम्म सञ्चालन भएको साफ यु–१९ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका समिर तामाङ गृहजिल्ला बारामा सम्मानित भएका छन् ।

साफ यु–१९ च्याम्पियनसिपमा कुल तीन गोल गर्दै भारत र भुटानका खेलाडीसँगै संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको पुरस्कार जितेका समिरलाई उनको नगदसहित सम्मानित गरिएको हो ।

निजगढ वडा नम्बर ८ का स्थायी वासिन्दा समिरलाई सोही वडा कार्यालयले नगद ५१ हजार र सम्मानपत्रसहित सम्मानित गरेको हो । समिरलाई एक कार्यक्रमका बीच निजगढ वडा नम्बर ८ का वडा अध्यक्ष सोनु लामाले नगदसहित सम्मानित गरेका हुन् ।

सम्मानित भएपछि समिरले खुशी व्यक्त गरे । यो सम्मानले आफुलाई आगामी दिनमा देशका लागि अझै राम्रो खेने हौसला मिलेको प्रतिक्रिया दिए ।

स्मरण रहोस, साफ यु–१९ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । भारत विरुद्ध समिरले नै रोमाञ्चक बराबरी गोल फर्काएका थिए । यद्यपि भारतले पेनाल्टी शुटआउटमा नेपाललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

फाइनलमा भने भारतले पाकिस्तानलाई ३–० ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।

Post Comments