News फुटबलमा ‘बिजय’ बन्दै बिजयलाल
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । नेपाली फुटबलको उर्बर भूमि मध्ये एक मानिएको मकवानपुर जिल्लालाई फुटबलको त्यो स्थानमा पुर्याउन बिगतदेखि वर्तमानसम्म धेरै ब्यक्तिहरुले उल्लेखनीय योगदान दिएका छन । त्यही व्यक्तिहरुको सूचीमा छुटाउन नहुने नाम बनेको छ, बिजयलाल श्रेष्ठ ।

हेटौडा–२ स्थायी घर भएका बिजयलालले आफ्नो जिवनको करिब चार दशक अर्थात ३६ बर्ष फुटबलमा समर्पित गरेका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) को मकवानपुर जिल्ला प्रशिक्षक समेत रहेका उनी विभिन्न उमेर समुह गरी दैनिक ६० भन्दा बढि खेलाडीलाई नियमित प्रशिक्षण दिईरहेका छन ।

खेलजिवन

वि.सं. २०२८ सालमा जन्मिएका बिजयलालले २०४४ सालबाट फुटबल खेल्न सुरु गरेका थिए । १४ बर्ष खेलाडी जिवनका रुपमा बिताएका बिजयलालसँग अतितका अनुभव पनि ताजै छन । बिभिन्न क्लबबाट मोफसलको प्रतियोगितामा सहभागी हुँदै ए डिभिजन लिगमा अन्नपुर्ण क्लब (आर सी टी) बाट शिर्ष लिग फुटबल पनि खेले । र हाल मकवानपुर जिल्लाको मुख्य प्रशिक्षकको रुपमा कार्यरत छन ।

प्रशिक्षण यात्रा

पछिल्लो २२ बर्षदेखी मकवानपुर र आसपासको जिल्लामा बिजयलालले एउटा इमान्दार र लगनशील प्रशिक्षकको छबी पनि बनाएका छन् । मकवानपुरबाट राष्ट्रिय टोली र युथ लेभलको राष्ट्रिय टोलीमा पर्ने अधिकांश खेलाडीहरु बिजयलालकै प्रशिक्षणबाट निखारिएका छन् । आफूले पाएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्ने बिजयलाल मकवानपुर जिल्लाका एक सफल र जिम्मेवार प्रशिक्षकका रुपमा पनि परिचित छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको चौथो ब्याचको जिम्मेवारी पाएका उनले आफ्नै प्रशिक्षकीय जिम्मेवारीमा राम्रा खेलाडीहरुलाई प्रशिक्षण दिन र उनीहरुलाई सफलता दिलाउन पाएकोमा खुशी र गोरवान्वित पनि छन् ।

बिजयलाल कै प्रशिक्षणमा आफूलाई पोख्त बनाएका चर्चित नामहरुमा राष्ट्रिय खेलाडीहरु जगजित श्रेष्ठ, बिशाल श्रेष्ठ एवम् एन्फाका युथ हेड नबिन महर्जन लगायतका खेलाडीहरु छन । यसैगरी पुर्व राष्ट्रिय खेलाडी रन्जन बिष्ट, एलन न्यौपाने, रोहीत कार्की, सुसन लामा, अमिर श्रेष्ठ, सुनिल बल जस्ता खेलाडीहरु पनि बिजयलाल कै चेला हुन् ।

त्यसबाहेक हाल राष्ट्रिय टोलीमा रहेका स्टार खेलाडी अन्जन बिष्ट पनि प्रशिक्षक बिजयलालकै उत्पादन हुन । त्यस्तै नेपालको यु–१६ टोलीबाट भर्खरै भुटानमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपमा सहभागिता जनाएका दुई मकवानपुरे खेलाडी गोलरक्षक बिशेष बानियाँ र डिफेन्डर भुवन कामी पनि श्रेष्ठकै उत्पादन हुन ।

उपाधी

फुटबलमा लागेर पनि अनेक सफलता र उपाधि पनि जिते । सन् २००४ मा नेपालको यु–१४ टोलीको सहायक प्रशिक्षकका रुपमा भारतमा सम्पन्न प्रतिष्ठित सुब्रतो मुखर्जी कप जितेको श्रेष्ठ सम्झिन्छन् । घरेलु मैदान मै सम्पन्न तेस्रो मकवानपुर गोल्डकप मकवानपुर–११ लाई उपाधि जिताउँदाको क्षणलाई प्रशिक्षक श्रेष्ठ अविष्मरणीय मान्छन् ।

खेलाडी र प्रशिक्षकका रुपमा जिवनको हरेक क्षण फुटबलमा समर्पित गरेका बिजयलाले कति सफलता र उपाधि जिते, त्यसको लेखाजोखा उनीसँगै छैन । तर पनि उनी नेपाली फुटबलको विकासमा सकेजति सबथोक दिन चाहन्छन् ।

फुटबलका लागि सबै निस्वार्थ भई कर्तव्यनिष्ठ बन्न सके नेपाली फुटबलले फड्को मार्न धेरै बेर नलाग्ने श्रेष्ठको बुझाई छ । वर्तमान नेपाली फुटबलको अवस्था केही निराशाजनक रहे पनि प्रशिक्षक श्रेष्ठ भने अझै आशावादी छन् । श्रेष्ठ भन्छन्, “नेपाली फुटबल अझै माथि जान सक्छ । मैले बुझेदेखि नै फुटबल मेरा लागि सबथोक हो । अवसर पाए आफुलाई अझै प्रमाणित गर्न चाहन्छु र त्यसका लागि तयार पनि छु ।”
 
 
 
Post Comments