News एसियन गेम्सः पुरुष फुटबलको स्वर्णमा दक्षिण कोरियाको ह्याट्रिक
गोलनेपाल

काठमाडौं (एजेन्सी) । चीनमा जारी १९औं एसियन गेम्सतर्फ पुरुष फुटबलतर्फको स्वर्ण पदक लगातार तेस्रोपटक दक्षिण कोरियाले जित्दै स्वर्ण पदकमाथि ह्याट्रिक जमाएको छ । दक्षिण कोरियाले यसअघि १७ र १८औं एसियन गेम्सको पुरुष फुटबलतर्फ पनि स्वर्णं पदक जितेको थियो ।

शनिबार हाङझु स्पोर्टस पार्क स्टेडियममा भएको फाइनल भिडन्तमा दक्षिण कोरियाले अर्को दावेदार टोली जापानलाई २–१ ले हरायो । खेलको दोस्रो मिनट मै कोतारो उचिनोको गोलबाट जापानले शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको २७औं मिनटमा जोङ वु योङले कोरियन टोलीका लागि बराबरी गोल फर्काए । त्यस्तै दोस्रो हाफतर्फ ५६औं मिनटमा चो योङ वुकले दोस्रो गोल गर्दै दक्षिण कोरियाको रोमाञ्चक जित पक्का गरे । पुरुष फुटबलतर्फ नै काँस्य पदकका लागि भएको खेलमा उज्वेकिस्तानले हङकङलाई ४–० ले हरायो ।

महिला फुटबलतर्फ जापानलाई स्वर्ण

त्यस्तै महिला फुटबलतर्फको स्वर्ण पदक जापानले जितेको छ । फाइनलमा उत्तर कोरियालाई ४–१ ले हराउँदै जापानले स्वर्ण पदक सुरक्षित गरेको हो । उत्तर कोरियाले भने रजतमा चित्त बुझायो । त्यस्तै काँस्य पदकको भिडन्तमा आयोजक चीनले उज्वेकिस्तानलाई ७–० ले हरायो ।

Post Comments