
बराहक्षेत्र । आयोजक प्रकाशपुर फुटबल क्लब यहाँ जारी छैठौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ प्रकाशपुरले रामधुनी युवा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
प्रकाशपुरका लागि संजय लिम्बु र एकराज बुढाथोकीले गोल गरे । पराजित रामधुनीका लागि पुजन चौधरीले गोल फर्काएका थिए ।
खेलमा प्रकाशपुरका एकराज बुढाथोकी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५०० र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असोज २२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल तालतलैया फुटबल क्लब र पूर्वाञ्चल एपिएफबीच हुने आयोजकले जानकारी दियो ।
वराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको प्रायोजन तथा वराहक्षेत्र नगरपालिका वडा नम्बर १० को कार्यालयको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज २७ गतेका दिन हुनेछ ।