News लगातार दोस्रो हारसँगै नेपालको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं । मंगोलियामा जारी एएफसी फुटसल एसियन कप छनौटतर्फ लगातार दोस्रो हार बेहोर्दै नेपाल आफ्नो समूह चरणबाटै बाहिरिएको छ ।

छनौट प्रतियोगिता अन्तरगत समूह डी मा रहेको नेपालले सोमबार आफ्नो दोस्रो खेलमा भियतनामसँग ५–० ले पराजित हुन पुग्यो । स्मरणीय छ, नेपालले आफ्नो पहिलो खेलमा दक्षिण कोरियासँग ५–१ को हार बेहोरेको थियो ।

लगातार दोस्रो हार बेहोरेपछि नेपाल एक खेल खेल्नु अघि नै समुह चरणबाट बाहिरिएको हो । सोमबार नै भएको समूह डी तर्फको अर्को खेलमा दक्षिण कोरियाले आयोजक मंगोलियालाई ६–१ ले हरायो ।

आफ्नो पहिलो खेलमा पनि भियतनामसँग समान ६–१ ले पराजित मंगोलिया पनि समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा अक्टुबर ११ तारीख बुधबारका दिन प्रतिष्ठाको भिडन्तका रुपमा नेपाल र आयोजक मंगोलिया भिड्ने छन् ।

त्यस्तै सोही दिन दक्षिण कोरिया र भियतनाम पनि आमने सामने हुनेछन् । लगातार दुई जितसँगै फाइनल चरणमा स्थान बनाउन सफल दक्षिण कोरिया र भियतनाबीचको खेलको नतिजाले समूह डी को समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

(Pic: Mongolia FA)

Post Comments