
बराहक्षेत्र । आयोजक प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरी यहाँ जारी छैठौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा प्रकाशपुरले मितेरी क्लब, इनरुवा, सुनसरीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।
प्रकाश माविको खेलमैदानमा भएको खेलमा प्रकाशपुरका लागि संजय लिम्बुले दुई गोल गरे भने सौरज राउत र उमेश कार्कीले थप एक–एक गोल गरे । खेलमा प्रकाशपुरका संजय लिम्बु म्यान अफ द म्याच चुनिए ।
प्रकाशपुरले अब असोज २७ गते हुने फाइनलमा पूर्वाञ्चल एपिएफ, पकली, सुनसरीसँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
बराहक्षेत्र नगर खेलकुद समितिको प्रायोजन तथा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० को कार्यालयको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।