News चित्लाङ बराहक्षेत्र गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । कठिन जितका साथ चित्लाङ फुटबल क्लब यहाँ जारी वाइवाइ तेस्रो बराहक्षेत्र गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चित्लाङले ब्रिगेड ब्वाईज क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि महेन्द्र माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ चित्लाङका लागि तपन कार्कीले गोल गरेका थिए भने ब्रिगेडका लागि रन्जन पुनले गोल गरेका थिए । टाईब्रेकरमा भने चित्लाङले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा चित्लाङका गोलरक्षक बिशाल सुनार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक २ गते बिहीबारको चौथो क्वाटरफाइनल खेल आयोजक चक्रघट्टी फुटबल क्लब र फ्युजन फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ६ गतेका दिन हुनेछ ।

Post Comments