News शनिश्चरे लक्ष्मीधाप कपको फाइनलमा
रमेश समदर्शी

शनिश्चरे । उपाधिको दाबेदार टोली शनिश्चरे एफसी झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधापमा जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबलप्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा अप्रत्यासित नतिजा निकालेर शनिश्चरे उपाधि होडमा पुगेको हो । स्पर्धी झिलझिलेको सतासीधाम स्पोर्टिङ क्लबलाई ६-१ गोलअन्तरले पराजित गर्दै शनिश्चरे फाइनलमा प्रवेश गरेको हो ।

खेलमा १-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै शनिश्चरेले बाजी मारेको हो । सुरुवाती अग्रता सतासीधामका निकेश श्रेष्ठको गोलबाट भएको थियो । उनले खेलको २०औँ मिनेटमा गोल गरेका थिए ।

तर, शनिश्चरेका ह्याट्रिकर्ता पुजन राईले २२औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । उनले खेलका ४४औँ र ४८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । प्रतियाेगितामा ह्याट्रिक गर्ने उनी तेस्राे खेलाडी हुन् । यसअघि देवेन्द्र तामाङ र राेमन भुजेलले ह्याट्रिक गरेका थिए ।

खेलको ६७औँ र ७२औँ मिनेटमा शनिश्चरेका निमा तामाङले व्यक्तिगत २ गोल गरेर खेललाई फराकिलो अन्तरमा पुराएका थिए । यसअघि खेलको ३२औँ मिनेटमा निमाको प्रहारलाई क्लियर गर्ने क्रममा टेकन लिम्बूको आत्मघाती गोल भएको थियो । खेलकाे म्यान अफ दी म्याच शनिश्चरेका पुजन राई भए । उनले नगद २ हजार ५ सय पाएका छन् ।

सर्वाधिक गोलकर्ताको दौडमा रहेका देवेन्द्र तामाङको प्रहार पटक पटक खेर गएको थियो । उनले पहिलो खेलमै ह्याट्रिकसहति ४ गोल गरेका थिए । न्यू स्टार क्लब खोपबाडीका रोमन भुजेलको नाममा पनि समान ४ गोल रहेको छ ।

शनिश्चरेले शनिबार न्यू स्टार क्लबसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आर्थिक संयोजक टेकराज तिलिङले बताए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही ३-३ हजार पाउने छन् ।
Post Comments