News सहज जितका साथ बराहक्षेत्र–११ फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । सहज जित हात पार्दै बराक्षेत्र–११ यहाँ जारी वाइवाइ तेस्रो बराहक्षेत्र गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा बराहक्षेत्रले चित्लाङ फुटबल क्लब, काठमाडौंलाई ३–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । बराहक्षेत्रको जितमा आकाश राईले दुई गोल गरे भने थप एक गोल साजन राईले गरे । उता पराजित चित्लाङका लागि राजिव लोप्चनले गोल गरेका थिए ।

खेलमा दुई गोल गरेका बराहक्षेत्रका आकाश राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक ४ गते शनिबारको दोस्रो सेमिफाइनल खेल शान्तिनगर फुटबल क्लब, सुनसरी र फ्युजन फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ६ गतेका दिन हुनेछ ।

Post Comments