News गोरख भेट्रान्स कप कात्तिक १७ देखि (खेलतालिकासहित)
रमेश समदर्शी

फिक्कल । पुरानो पुस्ताबाट फुटबलको मार्फतबाट युवालाई खेलमा आर्कषित गराउने उद्देश्यले यही कात्तिक १७ गतेबाट प्रथम गोरख भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियाेगिताकाे प्रत्यक्ष प्रशारण गाेल नेपालबाट हुनेछ ।

सूर्योदय नगरपालिका ५ समालबुङ स्थित गोरख टोल विकास संस्थाको आयोजनामा सामसुङ मेमोरियल मैदानमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गोरख भेट्रान्स र दिपेन्द्रशिखर एफसीले भिड्ने छन् ।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी छन् । आयोजक संस्थाका अनुसार प्रतियोगितामा दिपेन्द्रशिखर भेट्रान्स हर्कटे, दमक–लखनपुर भेट्रान्स झापा, ग्रिनस्टार फुटबल क्लब, इलाम भेट्रान्स, एमसीसी फिक्कल भेट्रान्स, पाँचथर भेट्रान्स र आयोजक गोरख भेट्रान्स सहभागी छन् ।

भारतको युएफसी भेट्रान्स बुङकुलुङले समेत प्रतियोगितामा सहभागिता जनाएको छ । पहिलो दिन ४ खेल सञ्चालन हुनेछ । दोश्रोे दिन सेमिफाइनल र फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । २ दिनसम्म चल्ने सेभेन साइड प्रतियोगिताको विजेताले ४० र उपविजेताले २० हजार नगदसहित आकर्षक ट्रफी पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिने बताइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि कुल ३ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजक समितिका सचिव विकास तामाङले बताए । उनले स्वास्थ्यसंगै युवाहरुलाई खेलकुदमा प्रेरित गर्न भेट्रान्स प्रतियोगिता आयोजना गरिएको बताए ।

युवाहरुमा मोबाइल लतका कारण घुलमिलमा समस्या देखिएपछि पाको उमेरका खेलाडीहरुले फुटबल खेल्न सक्छ भन्ने उर्जा दिनका लागि आयोजना गरिएको तामाङले बताए । उनले युवाहरुमा नो टु ड्रग्स भन्ने सन्देश दिन फुटबल आयोजना गरिएको पनि बताए । खेलमा ३८ वर्षमुनिका २ जना र बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको दुर्घटना बिमा समेत गरिएको उनले बताए । यसैबीच, भेट्रान्सहरुको जस्तो लगाव युवा पुस्ताको फुटबलमा नदेखिएको वडाध्यक्ष उर्गेन बम्जन बताउँछन् । लामो समयदेखि फुटबलमा अनवरत योगदान गर्नेहरुलाई सम्मान कार्यक्रमसमेत राखिएको बम्जनले बताए ।
 
Post Comments