News फिफा वरियतामा नेपालको दुई स्थान सुधार
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप छनौट र एएफसी एसियन कप छनौटको प्रारम्भिक चरणको छनौट खेलहरुमा राम्रो नतिजा हासिल गरेपछि नेपालले आफ्नो फिफा वरियतामा पनि दुई स्थान सुधार गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टुबर महिनाका लागि निकालेको ताजा वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७३औं स्थानमा उक्लेको हो ।

फिफा विश्वकप र एएफसी एसियन कप छनौटको प्रारम्भिक चरणको छनौट खेलतर्फ नेपालले लाओस विरुद्ध एक खेलमा बराबरी र एक खेलमा जित निकाल्दै दोस्रो चरणमा स्थान बनाउन सफल भएपछि नेपालको फिफा वरियतामा पनि सुधार भएको हो ।

दोस्रो चरणको छनौट खेलतर्फ समूह एच मा परेको नेपालले युएई, बहराईन र यमनसँग होम एण्ड अवेका आधारमा खेल्ने पनि तय भईसकेको छ । साथै नेपाल अहिले त्यसकै तयारीमा पनि जुटिसकेको छ ।

दक्षिण एसियामा नेपाल तेस्रो

त्यस्तै ताजा वरियता अनुसार दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । फिफा वरियताको १०२औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । १६१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

१८२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ नेपालपछि चौथो स्थानमा छ । १८३औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा १९३औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै २०२औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

अर्जेन्टिना कै शिर्षता

विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना नै यथावत छ । दोस्रो स्थानमा फ्रान्स रहँदा तेस्रो स्थानमा अर्को दक्षिण अमेरिकी महारथी ब्राजील रहेको छ ।

Post Comments