News ओलम्पिक छनौटः जापानसँग भारत निरीह
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ एसियाली छनौटको दोस्रो चरणको छनौट खेलहरु बिहीबारदेखि शुरु भएका छन् ।

दोस्रो चरणमा सहभागिता जनाईरहेको दक्षिण एसियाको एक मात्र टोली भारतले भने खराब शुरुवात गरेको छ । उज्वेकिस्तानमा शुरु समूह सी तर्फको आफ्नो पहिलो खेलमा भारतले दावेदार जापानसँग ७–० ले पराजित हुन पुग्यो ।

भारत कै समूह सी मा उज्वेकिस्तान र भियतनाम पनि छन् । बिहीबार नै भएको समूह सी तर्फको अर्को खेलमा आयोजक उज्वेकिस्तानले भियतनाममाथि १–० को साँघुरो जित निकाल्यो । स्मरण रहोस, पहिलो चरणमा, भियतनामले नेपाललाई नै हराएर दोस्रो चरणमा स्थान बनाउन सफल भएको थियो ।

त्यस्तै बिहीबार नै भएका दोस्रो चरणतर्फको अन्य खेलहरुमा समूह बी तर्फ दक्षिण कोरियाले थाइल्याण्डमाथि १०–१ को फराकिलो जित निकाल्यो । समूह बी मा यी दुई टोली बाहेक आयोजक चीन र उत्तर कोरिया रहेका छन् ।

त्यस्तै समूह ए तर्फ आयोजक अष्ट्रेलियाले इरानलाई २–० ले हरायो भने सोही समूहको अर्को खेलमा फिलिपिन्सले चाइनिज ताइपेईमाथि ४–१ को सहज जित निकाल्यो ।

दोस्रो चरणको छनौट प्रतियोगिताबाट प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने एक टोली गरी कुल चार टोलीहरु तेस्रो चरणका लागि छनौट हुने छन् । तेस्रो चरणबाट उत्कृष्ट दुई टोली अर्को वर्ष हुने पेरिस ओलम्पिक २०२४ का लागि छनौट हुने छन् ।

Pic: Indian Football Team

Post Comments