News फिफा विश्वकप फेरि एसिया मै हुने पक्का
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वाधिक ठूलो र प्रतिष्ठित सन् २०३४ को फिफा विश्वकप फेरि एसिया महादेशको साउदी अरेबियामा हुने पक्का भएको छ । अन्तिम समयमा आएर अष्ट्रेलियाले आयोजना अधिकारबाट नाम फिर्ता लिएपछि आयोजकको एक्लो प्रत्याशीका रुपमा साउदीले आयोजना अधिकार सुनिश्चित गरेको हो ।

त्यसअघि सन् २०३४ मा हुने २५औं फिफा विश्वकप आयोजनाका लागि साउदीसँगै अष्ट्रेलियाले पनि रुची देखाएको थियो । साथै आयोजना दावेदारीका लागि अक्टुबर ३१ तारीखसम्म अन्तिम दर्ता मिति तोकिएको थियो । तर, सोही मितिमा आएर अष्ट्रेलिया पछि हटेपछि साउदीलाई आयोजना अधिकार पक्का भएको हो ।

स्मरण रहोस, फिफाले पनि यसअघि नै सन् २०३४ को. फिफा विश्वकप एसिया वा ओसियाना क्षेत्रमा आयोजना गराउने घोषणा गरिसकेको थियो । सन् २०३० मा हुने फिफा विश्वकप भने विश्वकप आयोजनाको १०० वर्ष पुगेको अवसर पारी ६ फरक देशहरुमा आयोजना हुँदैछ ।

सन् २०३० को फिफा विश्वकप खासगरी स्पेन, पोर्चुगल र मोरक्कोमा हुने भए तापनि प्रतियोगिताको शुरुवाती तीन खेलहरु उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुने छन् । त्यसैगरी सन् २०२६ को फिफा विश्वकप भने अमेरिका, मेक्सिको र क्यानडाले संंयुक्त रुपमा आयोजना गर्दैछन् ।

स्मरणीय छ, सन् २०२२ को फिफा विश्वकप एसियाली राष्ट्र कतारले सफलताका साथ आयोजना गरिसकेको छ । साथै कतार विश्वकपको उपाधि ऐतिहासिक रुपमा अर्जेन्टिनाले जित्न सफल भएको थियो ।

 

Post Comments