News चितवनले ल्यायो 'हाइ प्रोफाइल' मिडफिल्डर
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको एफसी चितवनले आफ्नो स्क्वाड थप बलियो बनाउन घानाका हाई प्रोफाइल मिडफिल्डर एफ्राइ एक्वाहलाई क्लबमा अनुवन्ध गरेको छ ।

३१ वर्षिय घानाका यी अनुभवी मिडफिल्डरलाई अनुवन्ध गरेको कुरा चितवनले पनि आधिकारिक रुपमा जानकारी गराएको छ । यससँगै दोस्रो एनएसएल खेल्ने एक्वाह अर्का हाइ प्रोफाइल खेलाडी बनेका छन् ।

आफ्नो व्यवसायीक फुटबल करियरको अधिकांश समय इटालीको शिर्ष फुटबलमा बिताएका एक्वाहले पालेर्मो, पार्मा, साम्पडोरिया, टोरिनो, एम्पोली जस्ता चर्चित क्लबहरुबाट खेले । त्यसबाहेक उनी जर्मन, टर्की र साउदीको शिर्ष लिग खेल्न पनि भ्याए ।

घानाका लागि सन् २०१४ को फिफा विश्वकप पनि खेलेका एक्वाह सम्भवत नेपाल सुपर लिग खेल्ने अहिलेसम्म कै अनुभवी र हाइ प्रोफाइल खेलाडी मध्ये एक पनि हुन् । उनको आगमनले चितवनको स्क्वाड थप बलियो बन्ने अपेक्षा क्लबले गरेको छ ।

स्मरण रहोस, चितवनको मुख्य प्रशिक्षकमा भारतका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मेहराजुद्दिन वादु रहेका छन् । मार्की खेलाडीमा अनुभवी गोलरक्षक बिशाल श्रेष्ठ छन् भने आइकोनिक खेलाडीमा नेपालका स्टार फरवार्ड बिमल घर्ती मगर रहेका छन् ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोग र व्यवस्थापनमा हुन गईरहेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।

Post Comments