News आयोजक राजाबास क्वाटरफाइनलमा
गोलनेपाल

राजाबास । रोमाञ्चक जितका साथ आयोजक राजाबास युथ क्लब यहाँ जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ राजाबासले चतरा फुटबल क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । सरस्वती माविको खेलमैदानमा भएको खेलमा राजाबासका लागि रोनी बिष्ट र सन्तोष श्रेष्ठले गोल गरे । पराजित चतराका लागि आनाङ्ग राईले गोल गरेका थिए ।

खेलमा राजाबासका सन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १७ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल नव युवा क्लब र तालतलैया फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २४ गतेका दिन हुनेछ ।

Post Comments