News प्रथम बिरगंज गोल्डकप शुरु, आयोजकको भेट्रान सिटीको विजयी शुरुवात
गोलनेपाल

बिरगंज । मधेश प्रदेश कै सर्वाधिक धनराशी रहेको प्रथम बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । आदर्शनगर रंगशालामा भएको उद्घाटन खेलमा आयोजक भेट्रान सिटी क्लब, बिरगंजले विजयी शुरुवात गर्यो ।

उद्घाटन खेलमा भेट्रान सिटीले एफसीआई नर्थ जोन फुटबल टिम, नोयडा, भारतलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्र्रेकरमा भेट्रान सिटीले ३–१ को जित निकाल्दै सेमिफाइनल प्रवेश गर्न समेत सफल भयो ।

टाईब्रेकरमा विपक्षीका दुई प्रहार रोकेका भेट्रान सिटीका गोलरक्षक राजु नगरकोटी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक १९ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल संकटा क्लब र चर्च ब्वाईज युनाइटेडबीच हुने आयोजकले जानकारी दियो ।

भेट्रान सिटी क्लब, बिरगंजको आयोजना तथा बिरगंज महानगरपालिकाको प्रायोजन र विशेष सहयोग रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments