News मुख्यमन्त्री कोहलपुर गोल्डकपबाट भुकम्पपिडितलाई सहयोग गरिने
सुरज राना मगर

कोहलपुर । रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजक कमिटीले जाजरकोटको भुकम्पपिडितहरुलाई सहयोग गर्ने भएको छ ।

प्रतियोगिता अन्तरगत कार्तिक १८ गते भएको त्रिभुवन आर्मी फुटबल क्लब र भरतपुर फुटबल क्लब बीचको तेस्रो क्वाटरफाइनल खेलको टिकट बिक्रीबाट संकलित रकमको २५ प्रतिशत रकम जाजरकोटको भुकम्पपिडितलाई सहयोग गरिने आयोजक क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।

फुटबल खेललाई मनोरञ्जनका रुपमा मात्र नहेरेर विपतमा आफूहरुले सकेको सहयोग गर्नु मानवीय कर्तव्य पनि भएकाले जाजरकोटको भूकम्पपिडितलाई सकेको सहयोग गर्न लागेको अध्यक्ष क्षेत्रीले बताए । स्मरणीय छ, कार्तिक १७ गते शुक्रबार राती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले त्यहाँ धेरै जनधनको क्षति पुर्याएको थियो ।

शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा आर्मीले भरतपुरलाई ३–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो । यही कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

Post Comments