News महादेव युथ नैकाप गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । महादेव युथ क्लब यहाँ जारी छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल भिडन्ततर्फ महादेवले दावेदार मानिएको गोल्डस्टार युथ क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

त्यसअघि नैकाप खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ महादेवका लागि बिशाल घलेले गोल गरेका थिए भने गोल्डस्टारका लागि मिसन लामाले गोल गरेका थिए ।

टाईब्रेकरमा भने महादेवले गोल्डस्टारलाई ४–३ ले हराउन सफल भयो । खेलमा गोल्डस्टारको दुई पेनाल्टी प्रहार जोगाएका महादेवका गोलरक्षक लुज महर्जन म्यान अफ द म्याच घोषित भए । महादेवले अब कार्तिक २२ गते सेमिफाइनलतर्फ ब्लु बेल एफसीको सामना गर्नेछ ।

चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments