News तेस्रो मैत्रीपूर्ण अभ्यास खेलमा नेपालको सहज जित
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको दोस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार भएको आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा प्रभावशाली जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले दोस्रो नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको पोखरा थन्डर्सलाई ५–० ले हरायो । नेपालका लागि हिसुब थपलियाले दुई गोल गरे भने उत्सव राई, जिलेस्पी जंग कार्की र एरिक बिष्टले एक–एक गोल गरे ।

स्मरण रहोस, हाल बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले यसअघि भएका दुई मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल सुपर लिग खेल्ने तयारी मै रहेका ललितपुर फुटबल क्लब र बिरगंज युनाइटेड फुटबल क्लबलाई हराएको थियो ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले बलियो युएई, बहराईन र यमनसँग खेल्ने कार्यक्रम छ ।

छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यही नोभेम्बर १६ तारीखका दिन दुबईमा युएईको सामना गर्दैछ ।

Post Comments