News आर्मी बिरगंज गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिरगंज । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी प्रथम बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आर्मीले नेपाल सुपर लिग क्लब झापा एफसीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

बिरगंज स्थित आदर्शनगर रंगशालामा भएको खेलमा आर्मीका लागि निरज कुमार साह र फत्तेमान घलेले गोल गरे । खेलमा आर्मीका फत्तेमान घले म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत कार्तिक २२ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक भेट्रान सिटी क्लब, बिरगंज र नेपाल पुलिस फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

भेट्रान सिटी क्लबको आयोजना तथा बिरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments