News तालतलैया राजाबास च्यालेञ्ज कपको फाइनलमा
गोलनेपाल

राजाबास । तालतलैया फुटबल क्लब, इटहरी यहाँ जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलतर्फ तालतलैयाले सप्तकोशी फुटबल क्लब, बराहक्षेत्रलाई सडेन डेथमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ तालतलैयाका लागि सिजल राईले गोल गरेका थिए भने सप्तकोशीका लागि दिनेश राईले गोल गरेका थिए ।

त्यसपछि टाईब्रेकरबाट पनि नतिजा ननिस्किएपछि खेलको निर्णय सडेन डेथबाट लिनुपरेको थियो । सडेन डेथमा भने तालतलैयाले सप्तकोशीमाथि ५–४ को जित निकाल्न सफल भयो ।

खेलमा तालतलैयाका गोलरक्षक बिकास थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५०० र मेडल हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक २२ गते बुधबारको दोस्रो सेमिफाइनल खेल चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र र संकल्प फुटबल क्लब, इटहरीबीच हुने आयोजकले जानकारी दियो ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २४ गतेका दिन हुनेछ ।

Post Comments