News चक्रघट्टी फाइनलमा, उपाधिका लागि तालतलैयासँग भिड्ने
गोलनेपाल

राजाबास । चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरी यहाँ जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा संकल्प फुटबल क्लब, इटहरीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयतर्फ चक्रघट्टीका लागि भुवन बस्नेतले गोल गरेका थिए भने संकल्पका लागि सुमित चौधरीले गोल गरेका थिए ।

खेलमा चक्रघट्टीका रोशन रोक्का म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५०० र मेडल हात पारे । चक्रघट्टीले कार्तिक २४ गते हुने फाइनलमा तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीसँग उपाधिका लागि भिड्ने छन् ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments