News शुभ दीपावली कप: कोलबोटे र चुलाचुली सेमिफाइनलमा
रमेश समदर्शी

फाकफोकथुम गाउँपालिका ७ स्थित दोकान डाँडामा खेलकुद विकास समितिले आयोजना गरेको शुभ दीपावली कप फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट कोलबोटे एफसी र फुङनाम स्पोर्टिङ एफसी चुलाचुली विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जनकल्याण माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा कोलबोटेले जुनतारा एफसी माङसेबुङलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम बन्यो ।

कोलबोटेका लागि दिनेश शेर्माले खेलको ७ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । १ मिनेटपछि सन्तोष लिम्बूले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

यस्तै, खेलको ४९औँ मिनेटमा शुकराज राईले थप गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद पुरस्कार र ट्रफी पाउन सफल भए ।

माङसेबुङका लागि ३५औँ मिनेटमा कप्तान मनु लिम्बूले गोल गरे पनि खेलमा फर्कन सकेन । माङसेबुङ दोस्रो चरणमै घर फर्कियो ।

यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा चुलाचुलीले टाइब्रेकरमा बाजी मारेको हो । उसले स्पर्धी लिटल किकर्स एफसी दमकलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

खेलको निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा दकलाई ४-२ गोलअन्तरमा पराजित गर्दै चुलाचुलीले सेमिफाइनल यात्रा तय गर्यो । खेलको म्यान अफ दी म्याच गोलकिपर युविन राई भए ।

प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुनेछ । विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments