News भारतसँग कुवेत पराजित, साउदीसँग पाकिस्तानको हार
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत दक्षिण एसियाली राष्ट्र भारतले विजयी शुरुवात गरेको छ ।

समूह ए मा रहेको भारतले कुवेतलाई उसकै घरमा १–० ले हराउँदै विजयी शुरुवात गरेको हो । कुवेत सिटीमा सम्पन्न खेलमा भारतका लागि ७५औं मिनटमा मनविर सिंहले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

सोही समूहमा रहेको अर्को खेलमा बलियो कतारले अफगानिस्तानमाथि ८–१ को फराकिलो जित निकाल्यो । समूह चरणको दोस्रो खेल अन्तर्गत नोभेम्बर २१ तारीखका दिन भारतको भुवनेश्वर स्थित कालिंगा स्टेडियममा कतार र भारत भिड्ने कार्यक्रम छ । त्यस्तै सोही दिन कुवेत र अफगानिस्तान पनि भिड्ने छन् ।

साउदीसँग पाकिस्तानको सम्मानजनक हार

त्यस्तै एसियन महारथी साउदी अरेबियाले अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई शून्यका विरुद्ध ४ गोलले हरायो । तुलनात्मक रुपमा निकै बलियो साउँदीसँग उसकै घरेलु मैदानमा पाकिस्तानले सम्मानजनक हार बेहोरेको हो ।

समूह जी तर्फ कै अर्को खेलमा ताजिकिस्तान र जोर्डनले १–१ गोलको बराबरी खेले । पाकिस्तानले अब २१ नोभेम्बरका दिन ताजिकिस्तानसँग घरेलु मैदानमा दोस्रो खेल खेल्नेछ । सोही दिन साउदी र जोर्डन पनि भिड्ने छन् ।

त्यस्तै छनौट प्रतियोगिताको अन्य खेलहरुमा समूह बी तर्फ जापानले म्यानमारलाई ५–० ले हराउँदा सोही समूहको अर्को खेलमा सिरियाले उत्तर कोरियामाथि १–० को झिनो अन्तरको जित निकाल्यो ।

समूह सी तर्फ दक्षिण कोरियाले सिंगापुरमाथि ५–० को सहज जित दर्ता गर्दा सोही समूहको अर्को खेलमा चीनले थाइल्याण्डलाई २–१ ले निराश तुल्यायो । समूह डी तर्फ ओमानले चाइनिज ताइपेईलाई ३–० ले हरायो भने सोही समूहको अर्को खेलमा मलेसियाले किर्गिस्तानमाथि ४–३ को जित निकाल्यो ।

समूह ई तर्फ बलियो इरानले हङकङलाई ४–० ले पराजित गर्दा सोही समूहको अर्को खेलमा उज्वेकिस्तानले तुर्कमेनिस्तानलाई ३–१ ले हरायो । समूह एफ तर्फ इराकले इण्डोनेसियामाथि ५–१ को जित दर्ता गर्यो भने सोही समूहको अर्को खेलमा भियतनामले फिलिपिन्समाथि २–० को जित निकाल्यो ।

त्यस्तै नेपालको समूह एचमा रहेका अन्य दुई टोली बहराईन र यमन बीच भएको खेलमा बहराईनले २–० को जित दर्ता गर्दै विजयी शुरुवात गर्यो । स्मरण रहोस, सोही समूहमा रहेको नेपालले युएईसँग ४–० को हार बेहोरेको थियो ।

समूह आई तर्फ अष्ट्रेलियाले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ७–० ले हरायो भने सोही समूहको अर्को खेलमा लेबनान र प्यालेस्टाईनले गोलरहित बराबरी खेले ।

Post Comments