News दोस्रो समपुर्ण कप मंसिर ९ देखि
सुरज राना मगर

तिलोत्तमा । रुपन्देही जिल्लामा फरक र विशेष पहिचान अनि उद्देश्यका साथ स्थापित समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा यही मंसिर ९ गतेदेखि स्व. डिम बहादुर गुरुङ्ग स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

तिलोत्तमा–१४, सुपौली स्थित बाउन्नकोटी सामुदायिक वनको खेलमैदानमा हुने प्रतियोगिताको दोस्रो संस्करणको तयारी पनि पूरा भएको आयोजक क्लबका सह–सचिव तथा प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए । प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहने पनि प्रचार प्रसार संयोजक अर्यालले बताए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब. गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब. गुरुङ्ग, चित्र ब. गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद ८–८ हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक केसीले बताए ।

विभिन्न सामाजिक र रचनात्मक कार्यसँगै समपुर्ण युवा क्लब खेलकुदमा पनि सक्रिय रहेको क्लबका अध्यक्ष अबिर पुन पाईजाले बताए । भाईचारा, सहकार्य र स्थानीय खेलाडीहरुलाई अवसर मिलोस भनेरै प्रतियोगितालाई सभ्य र भव्य रुपमा आयोजना गर्ने योजनामा आफूहरु रहेको अध्यक्ष पाईजाले सुनाए ।

गाउँ, समाज र शुभेच्छुक सबैको साथ र सहयोग कै कारण प्रतियोगिता आयोजना गर्न सम्भव भएको बताउँदै अध्यक्ष पाईजाले समपुर्ण कपलाई जिल्ला कै मात्र नभएर राष्ट्रियस्तर मै उकास्ने उद्देश्य आफूहरुको रहेको पनि बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्विन पौडेल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन केसी (हापु) लगायत अन्य पदाधिकारी तथा नयाँ पुराना खेलाडीहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments