News एनएसएलः पोखरा र ललितपुरको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार सम्पन्न भएका दुई खेलहरुमा पोखरा थन्डर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबले महत्वपूर्ण जितका साथ विजयी शुरुवात गरेका छन् ।

दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा पोखराले यस सिजन दावेदार मध्ये एक मानिएको एफसी चितवनलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलको ७२औं मिनटमा मोसेस ट्वुमले गरेको एक मात्र गोल पोखरालाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

खेलमा म्यान अफ द म्याच भने पोखरा थन्डर्सका आइकोनिक खेलाडी तथा स्टार डिफेन्डर दिनेश राजवंशी घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

शनिबार नै भएको दोस्रो खेलमा ललितपुरले बुटवल लुम्बिनी फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । ललितपुरका लागि पहिलो हाफको २६औं मिनटमा दिनेश हेन्जनले पहिलो गोल गरे भने ३१औं मिनटमा अनन्त तामाङले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा ललितपुरका कप्तान र मार्की खेलाडी खेलाडी समेत रहेका अनन्त तामाङ नै म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

Post Comments