News रारा भेट्रान गोल्डकप शुरु, दुधे भेट्रान र बिराट मेघा भेट्रानको विजयी शुरुवात
गोलनेपाल

राजारानी । सोमबारदेखि शुरु प्रथम ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपमा दुधे भेट्रान, झापा र बिराट मेघा भेट्रान, बिराटनगरले विजयी शुरुवात गरेका छन् ।

धनकुटा स्थित राजारानी खेलमैदानमा भएको उद्घाटन खेलमा दुधे भेट्रानले हाम्रो धरान भेट्रान, सुनसरीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा दुधे भेट्रानका गोलरक्षक डम्बर बहादुर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५००० र मेडल हात पारे । यो जितसँगै दुधे भेट्रान सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै प्रतियोगिताको पहिलो दिन नै भएको दोस्रो खेलमा बिराट मेघा भेट्रानले आयोजक रारा भेट्रान, धनकुटालाई सडन डेथमा ५–४ ले हराउँदै विजयी शुरुवात गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ बिराट मेघा भेट्रानका लागि निर्मल खड्काले गोल गरे भने रारा भेट्रानका लागि सुमन श्रेष्ठले गोल गरेका थिए । त्यसपछिको टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा बिराट मेघा भेट्रान विजयी बनेको हो ।

खेलमा बिराट मेघा भेट्रानका निर्मल खड्का म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद ५००० र मेडल हात पारे । यो जितसँगै बिराट मेघा भेट्रान पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी चौबिसे गाउँपालिका, राजारानी, धनकुटाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । रारा भेट्रान, राजारानी, धनकुटाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही मंसिर १४ गतेका दिन हुनेछ । साथै प्रतियोगिताको संरक्षकमा चौबिसे गाउँपालिका, राजारानी, धनकुटा रहेको छ ।

Post Comments