News आहना दोस्रो समपुर्ण कपको क्वाटरफाइनलमा
सुरज राना मगर

सुपौली । रोमाञ्चक जितका साथ आहना फुटबल क्लब यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार आयोजक क्लबको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ आहनाले रेसुङा फुटबल क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आहनाको जितमा दुवै गोल मिलन आलेले गरे । पराजि रेसुङाका लागि आवेश शाहीले एक मात्र गोल फर्काएका थिए ।

खेलमा रेसुङाले पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउनु पर्यो । रेसुङाले पहिलो हाफ मै पेनाल्टीको अवसर पाएको थियो । तर, सनम गुरुङको त्यो पेनाल्टी प्रहार आहनाका गोलरक्षकले विफल तुल्याईदिएका थिए ।

खेलमा आहनाका लागि दुई गोल गरेका मिलन आले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंसिर १३ गते बुधबारको प्रिक्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र न्यु युथ युनियन क्लब, पाल्पा बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments