कर्जन्हा । बागमती युवा क्लब, सर्लाही यहाँ जारी दोस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार बन्दीपुर प्राङ्गणको खेलमैदानमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा बागमतीले रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
बागमतीको जितमा राज भुषालले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता भुषाल नै खेलको म्यान अफ द म्याच चुनिए । बागमतीले मंसिर १४ गते हुने दोस्रो सेमिफाइनलमा एपिएफ, बर्दिबाससँग खेल्नेछ ।
प्रतियोगिता अन्तरगत मंसिर १३ गते बुधबारको पहिलो सेमिफाइनल खेल बिरगंज युनाइटेड, पर्सा र सरस्वती युथ क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही मंसिर १६ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।