
माङ्सेबुङ । घरेलु टोली माङ्सेबुङ गाउँपालिका, इलाम यहाँ जारी १६औं आत्मानन्द कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार आत्मानन्द खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा माङ्सेबुङले सिरिजङ्गा स्र्पोटिङ क्लब, मोरङलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्नृ सफल भएको हो । खेलमा माङ्सेबुङका कप्तान तथा गोलरक्षक आयुष लिम्बु म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत मंसिर १३ गते बुधबारको दोस्रो सेमिफाइनल खेल माने भञ्ज्याङ फुटबल क्लब, दार्जिलिङ, भारत र तिजोक युवा क्लब, पाँचथरबीच हुने आयोजकले जानकारी दियो ।
किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औं जन्मोत्सवको अवसर पारी आत्मा पवित्र हक्चात यक्चुम र महान सेवा समारोह, माङ्सेबुङ, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१७० रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०५,१७० रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १७ गतेका दिन हुनेछ ।