News एलजी एसोसिएशनलाई भिमाद अर्ना कपको उपाधि
गोलनेपाल

भिमाद । यहाँ सम्पन्न भिमाद अर्ना कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि एलजी एसोसिएशन, पोखराले जितेको छ । फाइनलमा आयोजक युवा क्लब भिमाद, तनहुँलाई हराउँदै एलजी च्याम्पियन बनेको हो ।

भिमाद नगरपालिका–६ स्थित भिमाद रंगशालामा भएको फाइनल भिडन्तमा एलजीले युवा क्लब भिमादलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको एलजीले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता आयोजक टोलीले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ आयोजकका दिपेश श्रेष्ठ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बने । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक एलजीका आकाश रानाभाट बन्दा उत्कृष्ट डिफेन्डर भिमादका ध्रुव श्रेष्ठ चुनिए ।

उत्कृष्ट मिडफिल्डर भिमाद कै अनुराग जिसी घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार तनहुँ–११ का सन्त बहादुर गुरुङले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

युवा क्लब भिमाद, भिमाद नगरपालिका–६, तनहुँको आयोजना तथा भिमाद नगर उद्योग वाणिज्य संघ, तनहुँको सह–आयोजनामा मंसिर ७ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments